महोत्तरी, असार ३ गते। महोत्तरीको मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७औँ नगरसभाको खुला सत्रमा नगर प्रमुख हरिप्रसाद मण्डलले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटअनुसार राजस्व बाँडफाँडतर्फ १० करोड ५७ लाख रुपैयाँ, संघीय सरकारबाट २८ करोड ८८ लाख रुपैयाँ, प्रदेश सरकारबाट १ करोड ४९ लाख ९५ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट ६ करोड ५६ लाख रुपैयाँ जुटाइने लक्ष्य राखिएको छ।
नगर प्रमुख मण्डलले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको जानकारी दिए। साथै मटिहानीको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय पहिचानलाई विकासको मुख्य आधार बनाउँदै यस क्षेत्रमा थप योजनाहरू सञ्चालन गरिने उनले बताए।
मधेस प्रदेश सभामुख रामअशिष यादवको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभामा नगर प्रमुख मण्डलले कृषि तथा पशुपालन क्षेत्रको विकास, व्यावसायिक खेती तथा पशुपालनमा युवाको सहभागिता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए। उद्योग तथा वाणिज्य क्षेत्रको प्रवर्द्धनका लागि तालिम तथा व्यवसाय सञ्चालनमा नगरपालिकाले सहयोग गर्ने नीति लिइएको छ।
पर्यटन विकासतर्फ मटिहानी मठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न सरकारसमक्ष अनुरोध गरिने तथा नगरभित्रका पोखरी, जलसागरलगायत धार्मिक तथा ऐतिहासिक सम्पदाको सौन्दर्यीकरणमा जोड दिइने जनाइएको छ। साथै मठ, मन्दिर तथा मस्जिदहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रचारप्रसार, वृत्तचित्र निर्माण तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने उल्लेख गरिएको छ।
शिक्षा क्षेत्रअन्तर्गत मैथिली भाषाको संरक्षण, संवर्द्धन तथा विकासका लागि नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म सय पूर्णाङ्कको मैथिली भाषा विषय समावेश गरी अध्ययन गराइने व्यवस्था मिलाइने भएको छ। माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी मेला आयोजना गरिनुका साथै विद्यार्थीको सूचना प्रविधिमा पहुँच विस्तार गर्न जोडकोषमा आधारित ल्यापटप वितरण गरिने नीति लिइएको छ।
त्यस्तै कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई निःशुल्क साइकल वितरण तथा दलित, विपन्न, गरिब, अपाङ्ग, असहाय र सहिद परिवारका जेहेन्दार विद्यार्थीलाई नगर प्रमुख छात्रवृत्ति पुरस्कार उपलब्ध गराइने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ।
स्वास्थ्य क्षेत्रतर्फ नगरपालिकाले बर्थिङ सेन्टरबाट रेफर भएका बिरामीलाई जनकपुरसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिनुका साथै आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणालीको विकासमा समेत जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।
यसका अतिरिक्त समावेशीकरण, गरिबी निवारण, कला, संस्कृति, खेलकुद, पूर्वाधार विकास, सिँचाइ, भवन तथा सहरी विकास, सञ्चार, वातावरण संरक्षण, विपद् व्यवस्थापन, संस्थागत विकास तथा सुशासनसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको नगर प्रमुख मण्डलले जानकारी दिए।






