कार्यालय प्रमुखकै लापरवाहीले जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अस्तव्यस्त 

२०८३ असार ३, बुधबार १८:३८

जनकपुरधाम : जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सप्तरीका प्रमुख रमण साह अधिकांश समय कार्यालयमा अनुपस्थित रहने गरेको गुनासो बढ्दै गएको छ।

 

कार्यालय प्रमुख नै नियमित रूपमा कार्यालयमा नबस्दा कार्यालयको सेवा प्रवाह, प्रशासनिक कामकाज तथा कर्मचारी अनुशासनमा समेत नकारात्मक असर परेको सेवाग्राहीहरूको आरोप छ।

 

सेवाग्राहीका अनुसार कार्यालयमा विभिन्न काम लिएर आउने नागरिकले प्रमुखको अनुपस्थितिका कारण अनावश्यक सास्ती व्यहोर्नुपरेको छ। निर्णय हुनुपर्ने फाइल लामो समयसम्म अलपत्र पर्ने, सेवाग्राही पटक–पटक कार्यालय धाउन बाध्य हुने तथा कार्यालयको कार्यक्षमता खस्किँदै गएको गुनासो छ।

 

कार्यालय प्रमुख नै नियमित रूपमा कार्यालयमा उपस्थित नहुँदा कर्मचारीमा समेत जिम्मेवारीबोध कमजोर बन्दै गएको बताएका छन्। नेतृत्व तहबाट नै कार्यालय अनुशासनको पालना नहुँदा सरकारी कार्यालयप्रतिको नागरिक विश्वास घट्दै गएको उनीहरूको भनाइ छ।

 

कार्यालय प्रमुख रमण साहको अनुपस्थितिबारे प्रतिक्रिया लिन उहाँसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

 

सरकारी कार्यालयका प्रमुख बाट नियमित उपस्थिती, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहको अपेक्षा गरिने भए पनि जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सप्तरीको वर्तमान अवस्था त्यसको विपरीत देखिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने  आवाज उठ्न थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?