मिडिया हाउसका गेटमा अज्ञात कार: प्रहरीद्वारा अनुसन्धान सुरु

२०८३ असार २९, सोमबार १३:२९

काठमाडौं। काठमाडौंका विभिन्न प्रतिष्ठित सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा अज्ञात व्यक्तिहरूले बेवारिसे अवस्थामा निजी कारहरू पार्क गरेर छाडेपछि प्रहरीले व्यापक अनुसन्धान थालेको छ।

सोमबार बिहान बुद्धनगरस्थित अनलाइनखबर, हिमालय टेलिभिजन र थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडि सवारीसाधन आवतजावतमा पूर्ण अवरोध हुने गरी निजी नम्बर प्लेटका कारहरू पार्क गरिएका हुन्।

कार्यालयको मूल गेटमै अज्ञात व्यक्तिले कार पार्क गरी छाडेपछि सञ्चारगृहका कर्मचारी तथा अन्य सवारीसाधनहरू भित्र-बाहिर गर्न नसक्दा कार्यसम्पादनमा समेत अवरोध पुगेको छ।

सञ्चारगृहको गेटमा अवरोध हुने गरी शंकास्पद रूपमा कारहरू राखिएको देखेपछि स्थानीयवासी तथा सञ्चारकर्मीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए।

सूचना पाउनासाथ नेपाल प्रहरीको विशेष टोली सम्बन्धित स्थानहरूमा पुगेको छ। प्रहरीले ती गाडीहरूको विवरण संकलन गर्दै तिनका मालिकहरूको पहिचान गर्ने प्रयास तीव्र पारेको छ।

तीनवटै स्थानमा भेटिएका गाडीहरू निजी नम्बर प्लेटका रहेका छन्। ती गाडीहरू कसले, कुन उद्देश्यले र किन त्यहाँ छाडेर गएको हो भन्ने विषय हालसम्म खुल्न सकेको छैन।

सञ्चारगृहहरूलाई लक्षित गरी एकै पटक यस्तो गतिविधि गरिएकाले प्रहरीले यसलाई गम्भीरताका साथ लिएको छ। गाडीभित्र कुनै आपत्तिजनक वा विष्फोटक वस्तु रहेको वा नरहेको विषयमा समेत सुरक्षा निकायले प्राविधिक जाँचसहित आवश्यक अनुसन्धान अघि बढाएको छ। प्रहरीले ती गाडीहरूलाई सुरक्षित रूपमा हटाउने र घटनाको वास्तविक कारण पत्ता लगाउने कार्य भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?