मन्त्रीद्वयको निर्देशनपछि कोशी अस्पतालको जग्गामा चल्यो डोजर: ३२ वटा व्यावसायिक सटर भत्काइए

२०८३ असार २९, सोमबार १३:३५

विराटनगर। विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यावसायिक संरचनाहरूमाथि सोमबार बिहानै डोजर चलाइएको छ।

मन्त्रालयको निर्देशन र अस्पताल प्रशासनले दिएको सातदिने अल्टिमेटमको म्याद सकिएसँगै तीनवटा डोजर प्रयोग गरेर एक घण्टाभित्रै ३२ वटा व्यावसायिक सटर भत्काइएका हुन्।

गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले अस्पतालको स्थलगत अनुगमन गर्दै अतिक्रमित संरचनाहरू तत्काल हटाउन निर्देशन दिएका थिए।

सोही निर्देशनका आधारमा अस्पताल प्रशासनले सात दिनभित्र संरचना हटाउन सार्वजनिक सूचना जारी गरेपछि व्यवसायीहरूले शनिबारदेखि नै सटरहरू खाली गर्न थालेका थिए।

अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइँटेलका अनुसार देवकोटा पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था र गणेश मन्दिर समितिले औषधि पसल, क्लिनिक तथा अन्य व्यवसायलाई भाडामा लगाएका २६ वटा र अस्पतालकै स्वामित्वमा रहेका ६ वटा गरी कुल ३२ वटा सटरहरू भत्काइएका हुन्।

“मन्त्रालयको निर्देशनअनुसार यी संरचनाहरू हटाइएको हो। अब यस क्षेत्रलाई कम्पाउन्ड वाल (पर्खाल) निर्माण गरेर सुरक्षित बनाइनेछ,” लुइँटेलले बताए।

वर्षौंदेखि अस्पतालको बहुमूल्य जग्गामा विभिन्न संघ-संस्थाले स्थायी संरचना निर्माण गरी व्यापारिक प्रयोजनका लागि भाडामा दिँदै आएका थिए।

ती सटरहरूको आम्दानी अस्पतालले नभई सम्बन्धित संस्थाहरूले नै उठाउने गरेका थिए। अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयनका लागि अतिक्रमित संरचना हटाउन लामो समयदेखि पहल गर्दै आएको थियो।

डोजर चलाउने क्रममा हुन सक्ने सम्भावित अवरोध रोक्न घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

कारबाहीको प्रत्यक्ष अनुगमनका लागि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालसहितका उच्च अधिकारीहरू उपस्थित थिए।

एसपी कटवालले अस्पतालको जग्गा अस्पतालकै प्रयोजनमा उपयोग गर्ने उद्देश्यका साथ अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाइएको जानकारी दिए।

अस्पताल प्रशासनका अनुसार व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएका सटरहरू मात्र भत्काइएको हो भने नेपाल क्षयरोग निवारण संस्था, ब्लड बैंक, देवकोटा पुस्तकालय र गणेश मन्दिरका मूल संरचनाहरूलाई भने तत्कालका लागि यथावत् राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?