काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमा सरकारको आलोचना गर्दा आफूलाई ज्यान मार्ने धम्की आइरहेको गुनासो गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक महरले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत निरन्तर धम्की दिइएको खुलासा गरेका हुन्।
सदनमा जनताको प्रतिनिधि भएर बोल्दा सरकारको विरोध गरेको अर्थमा आफूलाई लक्षित गरी धम्की आउने गरेको महरले बताए। ‘सरकारको हामी गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौँ। सरकारलाई सही बाटो देखाउन चाहन्छौँ,’ उनले भने, ‘तर बिडम्बना, मलाई निरन्तर फोन र फेसबुकमार्फत ‘गोली हानिदिन्छु’, ‘मारिदिन्छु’ भन्दै धम्क्याउने काम भइरहेको छ।’
सांसद महरले संसद् चलिरहेकै अवस्थामा समेत सामाजिक सञ्जालमार्फत धम्की आएको जानकारी दिए। उनले सदनलाई जानकारी गराउँदै भने, ‘भर्खरै मात्र दुई जनाले मेरो स्टाटसमा कमेन्ट गर्नुभएको छ- ‘ऐन महर, आम्मा कसम तलाई म गोली हानेर मार्छु’ भन्दै आफ्नो नम्बर र ठेगाना समेत उल्लेख गर्नुभएको छ।’
आफू जनताको अभिमत लिएर संसद्मा आएको बताउँदै महरले निरपेक्ष विरोध नभई रचनात्मक भूमिका निर्वाह गर्दा पनि यस्ता आपराधिक धम्की आउनु दुःखद भएको उल्लेख गरे।






