ADVERTISEMENT

वडाध्यक्षको कार्यकक्षमै सांसद आशिका तामाङसँग विवाद, सामाजिक सञ्जालमा चर्कियो बहस

२०८३ कार्तिक १९, बिहीबार १५:२०

धादिङ–१ की सांसद आशिका तामाङ र थाक्रे गाउँपालिका–३ का वडाध्यक्ष विजय लामाबीच विवाद भएको छ। वडाध्यक्ष लामाले सांसद तामाङलाई ‘पागल्नी’ भनेपछि यो विषय अहिले चर्चामा आएको छ।

बुधबार (कार्तिक १८) सार्वजनिक भएको भिडियोमा सांसद तामाङ वडाध्यक्षको कार्यकक्षमा पुगेर सडकको अवस्थाबारे प्रश्न गरिरहेको देखिन्छ।

तामाङले आफ्नो निर्वाचन क्षेत्रका सडक सफा नभएको भन्दै वडाध्यक्षसँग जवाफ मागेकी थिइन्। सडक बनाउन र सफा गर्न वडासँग बजेट हुँदाहुँदै पनि काम नभएको उनको गुनासो थियो।

तर वडाध्यक्ष लामाले आफू निरन्तर सडक सफा गर्न लागिरहेको जवाफ दिएका थिए। चुनाव जितेर एक दिन आएपछि सडक सफा छैन भन्ने भन्दै उनले सांसदसँग प्रतिप्रश्नसमेत गरेका थिए।

यसक्रममा सांसद तामाङले वडाध्यक्षको कार्यकक्षमा प्रधानमन्त्रीको तस्बिरको सट्टा आफ्ना नेताको तस्बिर राखिएको भन्दै आपत्ति जनाएकी थिइन्। विवाद बढेपछि उनी वडाध्यक्षसँग थप कुरा नगर्ने भन्दै बाहिरिएकी थिइन्।

वडाध्यक्षले आफूलाई ‘पागल्नी सांसद’ भनेको विषयमा आशिका तामाङले सामाजिक सञ्जालमार्फत जवाफ दिएकी छन्।

उनले लेखेकी छन्, ‘वडाध्यक्षज्यूले भन्नुभएको पागल्नी सांसद रे म। हो, पागलले जे नि गर्छ नि फेरि। होसियार है, ५३ वडा अझै घुम्न बाँकी छ।’

उनको यो प्रतिक्रियाले विवादलाई थप चर्चामा ल्याएको छ।

सांसद तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ–१ मा निर्वाचित भएकी हुन्। उनी आफ्नो निर्वाचन क्षेत्रमा पुगेर स्थानीय समस्या र विकास निर्माणका विषयमा जनप्रतिनिधिसँग प्रत्यक्ष प्रश्न गर्ने शैलीका कारण पनि चर्चामा आउने गरेकी छन्।

यसअघि पनि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरणको विषयलाई लिएर उनी र स्थानीय जनप्रतिनिधिबीच विवाद भएको थियो। त्यसबेला पनि उनले वडा अध्यक्षहरूसँग गरेको कुराकानीको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रिया आएका थिए।

यसपटक भने सडक सरसफाइ र विकास निर्माणको विषयबाट सुरु भएको विवाद वडाध्यक्षले प्रयोग गरेको शब्द र सांसदको जवाफका कारण चर्चामा आएको छ।

Source:nepali maan tv

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?