नेपाल प्रहरीका असईलाई भारतीय तस्करलें कुटे

२०८० श्रावण ५, शुक्रबार ०७:१३

परासी । पश्चिम नवलपरासीको भुजहवा प्रहरी चौकीका इन्चार्ज असई राजाराम यादवलाई भारतिय तस्कर मिली कुटेको कुरा बाहिर आएको छ । गएको शुक्रबार राति ११ बजेको समयमा ८ जना भारतीय तस्करले महेशपुर देखि लगभग ३०० मिटर टाढा भुजहवा जाने बाटोमा भुजहवा प्रहरी चौकीका इन्चार्ज असईलाई कुटेका कुरा बाहिर आएको हो । भुजहवा प्रहरी चौकीका असईलाई कुटि मोबाइल हतियार तस्करले आफ्नो नियन्त्रणमा लिएको थिए भने केही समय पछि उक्त राति नै हतियार फिर्ता गरेका थिए भने मोबाइल शनिबार दिएका थिए ।
भारतीय तस्करहरूले नेपाल प्रहरीको असईलाई कुटपिट मात्रै होइन हतियार समेत खोसेको घटनाको जानकारी पाए लगत्तै लुम्बिनी प्रदेशका डिआइजी उमेश राज जोशीले जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी काजी आचार्यलाई फोन गरि तुरुन्तै घटनाको छानबिन गर्न र उक्त चौकीको असईलाई हटाउन निर्देशन दिएपनि यो समाचार तयार गरून्जेल सम्म भुजहवा चौकीका असई राजाराम यादवलाई हटाइएको छैन । ती असईलाई हटाउन एसपी काजी आचार्यले डिएसपी भोजराज पाण्डेलाई निर्देशन दिएपनि डिएसपी पाण्डेले हटाउनुको साटो उल्टो संरक्षण गरेर राखेका छन् ।
भुजहवा नाका तस्करीको अखडाको रूपमा चिनिन्छ । नेपाल प्रहरीको असई दर्जाको लागि अति उत्कृष्ट अतिरिक्त आम्दानी हुने ठाउँ भएकोले यहाँ जानका लागि टेण्डर हालेर जाने प्रचलन छ। एसपी , डिएसपी देखि प्रशासन र सुबेदार मेजर सम्मलाई मासिक बुझाउनुपर्ने अवस्था यहाँ रहेको छ । यो नाकाबाट धान , चामल , चिनी हार्डवेयरको ठूलो मात्रामा तस्करी हुदै आएको छ । यसबाहेक भैंसी , खसीबोका र गिट्टी बालुवाको तस्करी पनि यो नाकाबाट व्यापक मात्रामा हुदै आएको छ । तस्करहरूले असई कुटपिट गरेर हतियार खोसेको बिषयमा एसपी काजी आचार्यसंग प्रश्न गर्दा उनले डिएसपीलाई सोध्नु भनेर पन्छिए भने डिएसपी पाण्डेलाई जिज्ञासा राख्दा उनले सामान्य भएको भन्दै समाचार नलेख्न भने ।
अहिले पश्चिम नवलपरासीमा सहायक हवल्दार हाइधर धोवी घुमुवाको रूपमा परिचालन गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?