भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ ।बुधवार भारतको मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए ।
अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिण्डर ९०३ भारतीय रुपियाँ (करिव ११ अमेरिकी डलर) मा उपलब्ध हुनेछ । यो निर्णइले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी यपभोक्तालाई फाइदा हुने बताइएको हो ।
तर नेपालमा भने उल्टो भएको छ । भारतबाटै ग्यास आयात गरी वितरण हुने भए पनि यहाँ बिहीबारबाट खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर रु २३५ ले बढाइएको छ ।
नेपाल आयल निगमले बिहीबार रातिदेखि लागु हुने गरी उक्त मूल्यवृद्धि गरेपछि अब नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिण्डर १ हजार ८९५ पुगेको छ । यसअघि ग्यास सिलिण्डरको मूल्य १ हजार ६६० थियो ।





