पाल्पाका राधाकृष्ण विजयी एमाले लुम्बिनीको अध्यक्षमा

२०८० भाद्र २०, बुधबार ०५:२४

बुटवल, २०८० भदौ २० ।

नेकपा (एमाले) लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार एमाले उपाध्यक्ष विष्णु पाैडेल निकट कँडेल विजयी भएका हुन् ।

अध्यक्षका अर्का उम्मेदवार प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भएका छन् । रिजाल महासचिव शंकर पाेखरेल निकट हुन् । कंडेलले ४७९ मत प्राप्त गर्दा रिजालले ४७७ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मतसहित विजयी भए । उनका प्रतिष्पर्धी रुपन्देहीकै विश्वराज बरालले ३०६ मत पाए । खुल्ला उपसचिवमा रोल्पाका पूर्ण बुढामगर ४१८ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी दुर्गाबहादुर चौधरीले ३९३ मत पाएर पराजित भए ।

महिला उपसचिवमा लिला राना १ मतेले विजयी भइन् । उनले ३५२ मत पाउँदा प्रतिष्पर्धी बसन्ती अधिकारीले ३५१ मत पाएर पराजित भइन् । पदाधिकारीमा एक उपसचिव पूर्ण बुढामगरबाहेक अरु सबै राधाकृष्ण कंडेलकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन् ।

यस्तै लेखा समिति अध्यक्षमा कडेंल प्यानलकै दामोदर घिमिरे विजयी भएका छन् । एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् । भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । जसअनुसार रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो । एमाले प्रदेश कमिटी ५ पदाधिकारी र १५ जना खुल्ला सदस्य सहित २०५ सदस्यीय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?