कुमार पंकज ,काठमाडौ । टिकटकलाई केही समय यता नकारात्मक प्रयोग बढे पछि सरकारले टिकटलाई अमर्यादित तरिकाले प्रयोग गर्नेहरूमाथी कडाइ गरेको छ । सरकारले सद्भाव बिगार्ने सामग्री हटाउन टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग छलफल गरेको छ ।आज (शुक्रबार) टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन टिकटकका प्रतिनिधिहरूसँग छलफल गरेको हो ।
छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरू पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन सहज हुने भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
‘अतः जिम्मेवार नागरिकको रुपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानुनी कार्य गरेवापत हुने कानूनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ’, गृह मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समय टिकटकको गतिविधि हेर्दा यसले पारिवारिक, सामाजिक, र धार्मिक सद्भावमा असर पर्ने कन्टेणटहरु बढी रहेको छ। लाइभ बसेर पैसा कमाउने जोहोमा धेरै टिक्टकियाहरु अश्लील कन्टेण्टहरु बनाउने गरेको छ । केही टिकटकियाहरुले त लाइभमै अर्ध नङ्ग हुने गरेको भिडियोहरु सामाजिक संजालमा आउने गरेको छ । अतः टिकट्कको सकारात्मकभन्दा नकारात्मक प्रयोग बढेको प्रष्ट बुझिन्छ ।
टिकटकका प्रतिनिधिहरुसँग गृह मन्त्रालयमा भएको बैठकमा गृह मन्त्रालयसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकायका प्रतिनिधिहरु सहभागी थिए । टिकटकमा कतिपयले सामाजिक सद्भाव बिगार्ने तथा निकै अश्लिल भिडियोहरु पनि राख्ने गरेका छन् ।