राजस्व रकम हिनामिनासम्बन्धी मुद्दामा दोषी ठहर भएर कैद सजाय तोकिएका यातायात कार्यालयका पाँचजना पूर्वकर्मचारी पक्राउ परेका छन्।
यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालीन प्रमुख नयराज नेपाल र लेखापाल मणिराज दाहालसहित पाँचजनालाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सोमबार पक्राउ गरेको हो।
नेपाल र दाहाल सहित कर्मचारीहरू कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीले आर्थिक वर्ष २०६९/०७० र २०७०/०७१ मा भएको ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना र आ.व. २०७१/०७२, २०७२/०७३ र २०७३/०७४ फागुन मसान्तसम्म भएको ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई मुद्दा विशेष अदालतमा दायर गरेको थियो।
पक्राउ परेका उनीहरूलाई अदालतमा उपस्थित गराएर कैद सजाय भुक्तानका लागि जिल्ला कारागार कार्यालय मोरङमा चलान गरिएको उनले बताए।






