चंदन रजक, सप्तरी, माघ ५ गते । मधेश आन्दोलनका शहीदहरुको सम्झनामा सप्तरीमा बलिदानी दिवस मनाइएको छ। सप्तरीको दशनचोकमा जनमत पार्टी नेता तथा कार्यकर्ताहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरी बलिदानी दिवस मनाएका हुन्।
मधेश विद्रोहको क्रममा शहिद भएको सम्झनामा बलिदानीको संज्ञा दिँदै मधेश केन्द्रीत दलले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएका छन्।
दीप प्रज्जवलन अघि आयोजित कार्यक्रममा बोल्ने जनमतका नेताहरुले शहिदहरुको बलिदानीका कारण नै देशमा परिवर्तन भएको बताए। उनीहरुले शहिदहरुको सपना साकार पारेर छाड्ने दाबी गरे।
कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी र सुजित मंडल,ऋषिकेश ठाकुर , पार्टीका थारु प्रदेश इन्चार्ज मन्जु चौधरी , तिलाठी कोईलाडी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कमल मण्डल, जन सम्पर्क कार्यलय सदस्य सचिदानन्द यादव , रमेश सिंह लगायतले बोल्दै अहिलेको संविधानले सबै नागरिकको अधिकार समेट्न नसकेकोले संविधान संशोधनको आवश्यकता रहेकोमा जोड दिए।
उनीहरुले संविधान संशोधन नभएसम्म संघर्ष जारी रहने बताए।






