जनकपुरधाम, माघ ७ गते । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा सप्तरीको राजविराज नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
सोमबार राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै छ । सो अवसरमा राजविराज नगरपालिकाले सार्बजनिक बिदा घोषणा गरेको हो ।
कार्यबाहक नगरप्रमुख इसरत परविनले एक सूचना जारी गर्दै रामको प्राण प्रतिष्ठाको दिन मातहतको सबै निकायमा बिदा रहेको जानकारी गराएका हुन् । सूचनामा सो दिन नगरपालिका भित्र माछा, मासु, मदिरा विक्रीवितरण बन्द गर्न पनि अपिल गरेको छ ।
भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिका भित्रको घरघर तथा मठमन्दिरमा दिप प्रज्वलन गर्न समेत आग्रह गरेको छ ।राममन्दिरको प्राण प्रतिष्ठामा तराई मधेशका धेरै पालिकाहरुले घरघरमा दीप प्रज्वलन गरेर उत्सव मनाउन आग्रह गरेका छन् ।






