महोत्तरीमा दुई समुदायबिच झडप तीन जना घाइते

२०८० फाल्गुन ५, शनिबार १०:५७

फागुन ५,डेस्क । महोत्तरीको सम्सी गाउँपालिकामा दुई समुदायबीच भएको झड्पमा तीनजना घाइते भएका छन् । पूर्व गाविस अध्यक्षको मोटरसाइकल जलाइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाइफायर गरेको छ ।

घटनामा हिन्दु समुदायका दुई, मुस्लिम समुदायका एक र एक सुरक्षाकर्मी घाइते भएका छन् । महोत्तरी प्रहरीका अनुसार अहिले स्थिति नियन्त्रणमा छ । घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर २ पर्सामा महावीर झन्डाको कलशयात्रा क्रममा ठूलो स्वरमा डिजे बजेको भन्दै विरोध गरिरहेका मुस्लिम र यात्रामा सहभागी हिन्दु समुदायबीच विवाद चर्कँदै जाँदा एक आपसमा ढुङ्गा हानाहान भएको हो ।

स्थानीयलाई डिजेमार्फत घन्किँदै गरेको जय श्रीरामको नारा आफ्नो मस्जिद क्षेत्रमा नबजाउन भनी मुस्लिमले रोक लगाएपछि विवाद भएको स्थानीयलाई उद्धृत गर्दै जनाएका छन् ।

घटनास्थल मुस्लिमबहुल क्षेत्र हो भने कलशयात्रामा सहभागीहरू सम्सी वडा नम्बर १ का छन् । यो वडा पनि पर्सामै छ ।

प्रहरीको बलप्रहारपछि स्थिति साम्य देखिए पनि तनाव कायम नै रहेको जानकारी दिए । घटना स्थलमा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?