२२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने गरि प्रदेशसभा बैठक आजको लागि बोलाइएको छ ।
यस अघि शुक्रबार बोलाइएको बैठक मुख्यमन्त्री सोडारीको अनुरोधमा आजको लागि सारिएको हो । आज बैठक साढे ५ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगर्दा मुख्यमन्त्रीका लागि आह्वान गरिएको शुक्रबारको बैठक नै स्थगित हुन पुगेको थियो । पार्टीको रेशम चौधरी पक्षले सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ भने रञ्जिता श्रेष्ठ पक्षका दुई सांसद भने विश्वासको मत दिने तयारीमा छन् । उनीहरू दुवै जना प्रदेश सरकारमा सहभागी छन् ।
सत्तारुढ माओवादी केन्द्रले भने सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने संसदीय दलका नेता मानबहादुर धामीले बताएका छन् ।