मधेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहका नौ महत्वपूर्ण निर्णयहरू सार्वजनिक

२०८१ जेष्ठ २५, शुक्रबार १६:२९

जनकपुरधाम,२५ जेठ । मधेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पदभार ग्रहण गरेपछि नौ महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेका छन्। कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, र खेलकुदलाई प्राथमिकतामा राख्दै उनले यी निर्णयहरू गरेका हुन्।

मुख्यमन्त्री सिंहले मधेशका १३६ पालिकालाई लक्षित गरी नमुना कृषि विकास समूह सहकारी वा कृषि साझेदारी मार्फत प्रत्येक पालिकामा एक कृषि उत्कृष्टता केन्द्र स्थापना गर्ने घोषणा गरेका छन्।

त्यस्तै, मधेश प्रदेशका प्रत्येक जिल्लामा नमुनाको रूपमा एक-एक वटा खुला शैक्षिक पार्क निर्माण गर्ने योजना रहेको सिंहले बताएका छन्। उनले मधेश प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वासिलो बनाउन डिजिटल तथ्यांक बैंक स्थापन गर्ने निर्णय पनि सार्वजनिक गरेका छन्।

विदेशबाट सीप सिकेर फर्किएका जनशक्तिलाई परिचालन गर्दै सीपलाई रोजगारसँग जोड्ने कार्यक्रम लागू गर्ने निर्णय भएको उनले जानकारी दिए।

मुख्यमन्त्री सिंहले मधेशमा रहेको चरम भ्रष्टाचार न्युनीकरण गर्दै सुशासन कायम गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको उल्लेख गरे। उनले भने, “म जतिदिन पदमा रहन्छु, सबै दललाई मिलाएर सहकार्य गर्दै जनताको पक्षमा काम गर्छु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?