
काठमाडौं,०३ असार । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्।
असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट मेयर शाह ब्राजिल प्रस्थान गरेका हुन्। बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्कने छन् । प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन्।
सहरी आवास र भवनहरुको विषय यस पटक छलफलको मुख्य विषय रहेको छ। सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा प्रमुख शाहले सम्बोधन गर्नेछन्।
कार्यक्रमअन्तर्गत ‘मेयरल राउण्ड टेवल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा प्रमुख शाहले प्यानलिष्टका रुपमा धारणा प्रस्तुत गर्नेछन्।