रौतहट,०५ असार । भारतीय प्रहरीको ‘मस्ट वान्टेड’को सूचीमा रहेका एकजना भारतीय नागरिकलाई लुटपाटमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना घोडासहन ग्राम पंचायत बसवरिया वडा २ का २० वर्षीय मोनुकुमार जयसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।
गत जेठ २२ गते बिहान साढे १० बजे मौलापुर नगरपालिका ६ पथरा बुधराम स्थित सडक खण्डमा माँ बचत तथा ऋण सहकारी संस्थामा काम गर्ने बौधिमाई ८ का बर्ष २४ को अरबिन्द कुमार दासले १७ लाख झोलामा राखि राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्न विआर ०५ ए एन ८७६२ भारतीय नम्बरको प्लाटिना मोटरसाइकलमा चढी मौलापुर तर्फ गइरहेका थिए।
सोही क्रममा विपरीत दिशाबाट आएका ३ जना अपरिचित व्यक्तिहरूले उक्त रकम लुटपाट गर्ने उद्देश्यले अरबिन्द कुमार दासलाई पछाडिबाट गोली हानी फरार भएको थियो । प्रहरीले अनुसन्धानको क्रममा घटनामा संलग्न अभियुक्तहरू सीमावर्ती भारत विहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय रहेको बाबा ग्याङ नामको आपराधिक समूहमा आबद्ध रहेको व्यक्तिहरु संग साँठगाठ रहेको निष्कर्ष निकालेको थियो।
उनीहरू भारत र नेपालको सीमावर्ती इलाकामा लुटपाट, भारतीय सामानको तस्करीमा सक्रिय रहेको प्रहरीको अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ। गत २ गते साँझ साढे ५ बजेको समयमा मौलापुर ७ स्थितबाट घरेलु कटुवा पेस्तोल १ थान ,गोली राउण्ड २ थान समेत भारतीय नागरिक जयसवाललाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्।
जयसवाल माथि हातहतियार तथा खरखजना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप थामाई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी सूचनामा उल्लेख गरिएको छ।
आरोपी भारतीय नागरिक मोनु जयसवाल भारतीय प्रहरीले ‘मस्ट वान्टेड’को सूचीमा रहेका छन्। उनीमाथि घोडासहन र झरौखर थानामा एक दर्जन भन्दा बढी आपराधिक मुद्दाहरू दर्ता रहेको मोतीहारी जिल्लाका एसपी कान्तेश कुमार मिश्रले बताएका छन। आरोपी जयसवाल माथि भारतीय क्षेत्रमा अवैध हतियारको कारोबार , लुटपाट, अपहरण,अवैध मदिरा ओसारपसार जस्ता मुद्दा दर्ता रहेको भारतीय प्रहरीको जनाएको छ।
गत मार्च महिनामा जयसवाल अन्य केही साथीहरू अंग मिलेर भारतीय सीमा सुरक्षा बल जमुनिया क्याम्पका एकजना जवान माथि आक्रमण गरेका थिए। उक्त घटनामा संलग्न अन्य केही अभियुक्त पक्राउ परेका थिए भने मुख्य योजनाकार जयसवाल नेपाल तर्फ भागेर जोगिएको एसएसबीले जनाएको छ। जयसवाल केही समय अघि जेल जीवन समेत बिताइ सकेका भारतीय प्रहरीले जनाएको छ।






