सर्लाहीमा कान्छी पत्नीसँग मिलेर जेठी श्रीमतीको हत्या, श्रीमान र कान्छी पत्नी पक्राउ

२०८१ असार ६, बिहीबार ०६:४५

सर्लाही,०६ असार । सर्लाहीको बरहथवामा एक महिलाको हत्या आरोपमा उनका पति र सौता पक्राउ परेका छन्।

बरहथवा नगरपालिका–१२, लौकाठ निवासी ३५ वर्षीया लीलावती देवी महतोको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनका पति ३८ वर्षीय शंकर महतो र उनकी कान्छी पत्नी (मृतक महिलाकी सौता) २१ वर्षीया रजनदेवी महतोलाई पक्राउ गरेको हो।

घरबाट करिब डेढ किलोमिटर टाढा खेतमा उनको हत्या गरेको अवस्थामा शव बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले बताए।

उनले घटनाबारे जानकारी पाए लगतै मृतक महिलाका श्रीमान् शंकर र उनकी कान्छी श्रीमती सजनीदेवी महतोलाई नियन्त्रणमा लिइएको बताए।

मृतक महिलाको घाँटी र अनुहारमा निलडाम देखिएको हुँदा श्रीमान् र उनकी कान्छी श्रीमतीले नै हत्या गरेको हुनसक्ने भन्दै उनीहरुलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?