वीरगन्ज,१८ असार । वीगन्जको आर्दशनरस्थित सिदार्थ बैंकमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।बैंकको आदर्शनगरस्थित शाखा कार्यालयमा सोेमबार भएको आगलागीबाट २ करोड भन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ । सोमबार अपरान्ह अचानक बैंकको माथिल्लो तलाबाट आगलागी सुरु भएको थियो । आगलागी करिब ४ घण्टापछि नियन्त्रणमा आएको थियो ।
वीरगन्ज महानगरपालिकासहित पोखरीया नगरपालिका, नेपाल प्रहरी बाराको जिनपुरसिमरा उपमहानगरपालिका र छिमेकी भारतको रक्सौलबाट आएको ८ वटा दमकल र स्थानीयहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको थियो ।
बैँकमा रहेको स्टोर रुमबाट सल्किएको आगोले उग्र रुप लिदाँ यत्रतत्र फैलिएको थियो । ‘स्टोर रुममा सर्ट सर्किट भएर सुरुमै आगो लागेको थाहा नपाउँदा चारैतिर आगो फैलिएको प्रहरीकाे अनुमान छ, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक इन्स्पेक्टर पुष्कर बोगटीका अनुसार विस्तृत विवरण भने आउन बाँकी छ ।’
आगलागीका कारण अत्यन्तै ठूलो क्षति भए पनि एकीन विवरण आउन बाँकी रहेको भन्दै उनले २ करोडभन्दा बढीको क्षती भएको अनुमान रहेको बताए । आगलागीबाट बैँकको कोठाहरुमा पूर्णरूपमा क्षति भएको प्रहरीले जानकारी िदएकाे छ ।
बैंकको भुइ तल्ला बाहेक अन्य ४ तल्लाका सम्पूर्ण कोठाहरु जलेर नष्ट भएको प्रहरी निरिक्षक बोगटीले बताए । यस्तै आगोका कारण बैँकका फाइल, फर्निचर, १ वटा जेनेरेटर लगायतका सामान समेत जलेको प्रहरीले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीको भनाई छ ।






