आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका जलेश्वरका प्रमुखले पाए सफाइ

२०८१ असार ३०, आईतवार १५:५२

जनकपुरधाम,३० असार । आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले मुद्दामा सफाइ पाएपछि आजदेखि पुनः कार्यभार सम्हालेका छन् ।

उनीसहित उपप्रमुख रौशन खातुन, वडा नं १ का वडाध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धिरेन्द्र झाले पनि सफाइ पाएपछि आजैदेखि कार्यभार सम्हालेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २७ गते जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेको थियो । असार २६ गते विशेष अदालतले १२ जनामध्ये माथि उल्लेखितलाई सफाइ दिएपछि उनीहरूले आजदेखि जलेश्वर नगरपालिकामा आ–आफ्नो कार्यभार सम्हालेका छन् ।

सोही मुद्दामा विशेष अदालतले आंशिक कसुर ठहर गरेका जलेश्वर नगरपालिकाका वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सबइन्जिनियर दिपेशकुमार साहलाई कैद तथा जरिवाना तोकेको छ भने उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीलाई जरिवाना तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?