सिमलताल दुर्घटनामा परी त्रिशुलीमा बेपत्ताको परिवारप्रति मेयर सिंहको सहानुभूती

२०८१ श्रावण २, बुधबार १३:२४

बीरगन्ज,२ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता एन्जल बसमा सवार रहेका बीरगन्जका ३ जनाका परिवारसँग बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले भेट गरेका छन् ।

तीनै जना बीरगन्ज महानगरपालिका –१६ का रहेका छन् ।उनीहरुको परिवारसँग मेयर सिंहले बुधबार बिहान भेट गरेर पीडित परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।

पहिरोमा परि त्रिशुली नदीमा खसेको एञ्जल डिलक्स बसका चालक बीरगन्ज १६ नगवाका जवाहिर महतो, बारा जिल्ला स्थायी घर भई नगवामा बसोबास गर्दै आएका चन्देश्वर पंडितका २२ वर्षीय छोरा अरविन्द पंडित र नगवाकै नयाँ वस्तीका हरेन्द्र पंडित रहेका थिए ।

नदीमा खसेको बस र यात्रुको खोजी कार्य जारी रहेको भएपनि उनीहरु अहिलेसम्म फेला पर्न सकेको छैन । २ छोरा, १ छोरी र श्रीमती रहेका चालक जवाहिरले रात्रि बस चलाएर जिविकोपार्जन गर्दै आएका थिए ।

घरको मूली नै नरहेपछि परिवार विचल्लीमा परेका छन् । चालकका परिवारसँग भेट गर्दै मेयर सिंहले बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरपालिकाले लिने बताए ।

परिवारको जिविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगर तयार रहेको पनि बताए । यस्तै शिक्षण अस्पताल काठमाडौँबाट बीएससी नर्सिङ पूरा गरि सेवा अवधिका लागि पत्र बुझ्न हिँडेका अरबिन्द पंडितका परिवारसँग भेट गर्दै मेयर सिंहले पीडित परिवारको साथमा आफू रहेको बताए ।

यस्तै नगवा नयाँ टोलका ४५ वर्षीय हरेन्द्र पंडितको परिवारलाई पनि मेयर सिंहले भेट गरेका छन् । काठमाण्डौमा फर्निचरको काम गर्दै आएका उनी पनि सोही बसमा गइरहेका थिए ।

भरतपुर महागनरपालिका वडा नं. २९ सिमलतालस्थित सडकबाट गएको असार २८ गते शुक्रबार बिहान ३ बीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३९००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर अाउदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस पहिरोसँगै बगेर त्रिशूलीमा बेपत्ता भएका थिए ।

हाल सम्म पनि बेपत्ता बस फेला परेको छैन भने दुई बसमा सवार ४७ यात्रु अझैँ अज्ञात रहेका छन् । खोजी कार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?