भक्तपुर,१३ साउन। भक्तपुरको नयाँ ठिमीमा शनिबार दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षीय युवकको ज्यान गुमेको छ । दुर्घटनामा अर्का २० वर्षीय युवक गम्भीर घाइते भएका छन् ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमीमा काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फबाट आउँदै गरेको बागमती प्रदेश ४ ख २९०१ नं को टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करले मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका १ घर भई हाल भक्तपुर कमलबिनायक बस्दै आएका २१ वर्षीय सुवास तामाङ गम्भीर घाइते भएका थिए । उपचारका क्रममै उनको ठिमीस्थित मध्यपुर अस्पतालमा निधन भएको थियो । तामाङले चलाएको मोटरसाइकलको पछाडि बसेका काभ्रेकै माहाकाल गाविस – ६ का सञ्जीव थापाको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ ।






