लागुऔषध सहित भारतीय नागरिक पक्राउ

२०८१ श्रावण १४, सोमबार १०:०३

वीरुगन्ज,१३ साउन । सशस्त्र प्रहरी बल पर्साले लागु औषध चरेशसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । पोखरीया नगरपालिकाबाट १२ किलोग्राम लागु औषध चरेशसहित १ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा खटिएको टोलीले पोखरीयाको बनकटवाबाट भारततर्फ जाँदै गरेको बीआर २२ एबी १२९२ नम्बरको मोटरसाइकलको सिटमुनी लुकाइछिपाई राखेको अवस्थामा उक्त परिमाणको लागुऔषध चरेश बरामद भएको सशस्त्र प्रहरी पर्साका प्रमुख राधेश्याम धिमालले जानकारी दिए ।

लागु औषध चरेशसहित पक्राउ परेका भारतीय नागरिकको पहिचान खुल्न नसकेको उनले बताए । बरामद चरेश र मोटरसाइकलसहित भारतीय नागरिकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्र्रहरी पर्साले जनाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बलले ४ केजी लागुऔषध गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिकाको दसौताबाट ४ किलोग्राम लागु औषध गाँजासहित २ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले उनीहरुको साथबाट बीआर २२ बीजे ३८९५ नम्बर मोटरसाइकलसमेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?