मकवानपुर,१४ साउन । योगदान राष्ट्रको लागि हेटौंडा नगर कमिटी गठन गरिएको छ । आज सोमबार हेटौंडा–५ स्थित सिटी कलेज मकवानपुरको सभाहलमा आयोजित भेलाले बेलप्रसाद खतिवडालाई संयोजक र सफल दुतराजलाई उपसंयोजकमा चयन गरेको हो ।
योगदान राष्ट्रका लागि मकवानपुरका अध्यक्ष पदम प्रसाद (मिलन) सेढाईको अध्यक्षता र योगदान राष्ट्रका लागि केन्द्रीय सदस्य एवं मकवानपुरका पूर्व अध्यक्ष रुपक कालिराजको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
नवनिर्वाचित नेतृत्वले नगरलाई योगदानका कार्यहरूद्वारा उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएका थिए । संयोजक खतिवडाले वडा कमिटीलाई पूर्णता दिँदै ‘प्राथमिक उपचार हाम्रो सरकार’ भन्ने नारालाई साकार पार्ने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कालिराजले मकवानपुर जिल्लाको कामको उच्च मूल्यांकन गर्दै नगर र गाउँ कमिटीलाई विभिन्न जनचेतनामूलक कार्यक्रम गर्न आग्रह गर्नुभयो । उहाँले बधाई तथा शुभकामना व्यक्त गर्दै हेटौंडालाई देशकै उत्कृष्ट नगर कमिटी बनाउन नवनिर्वाचित नेतृत्वलाई आह्वान समेत गर्नुभयो ।
जिल्ला अध्यक्ष सेढाईले योगदान राष्ट्रमार्फत स्वास्थ्य क्षेत्रमा योगदान, प्राथमिक उपचार, सरसफाई जनचेतना लगायत सामाजिक कार्यक्रमहरू गर्न सकिने बताउनु भयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष विजय बजगाईंले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव मनिष अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । योगदान राष्ट्रका लागि मकवानपुरका सल्लाहकार, आजीवन सदस्य, जिल्ला सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, योगदानकर्र्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
योगदान राष्ट्रका लागिले प्राथमिक उपचार तालिम दिई देशमा आइपर्ने विपद्, महामारी, दुर्घटना तथा आपत्कालीन अवस्थाका लागि जनशक्ति विकास गर्ने र स्वतन्त्र स्वयंसेवक तयार गरी समाजमा योगदान दिने उद्देश्यले स्थापित गैरनाफामूलक संस्था हो । यो संस्थाले २०७४ सालदेखि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।






