
१६ साउन, काठमाडौं । रातभरको वर्षाले भक्तपुरका विभिन्न स्थानमा बाढी पसेर क्षति पुर्याएको छ । बाढीले मनोहरा र हनुमन्ते खोला किनार क्षेत्रका घर, विद्यालय र ग्यारेजमा क्षति पुर्याएको हो। हनुमन्तेको करिडोर सडक ठप्प भएको छ। बाढीले काठमाडौं महानगरपालिकाको ३४ नम्बर वडा नरेफाँट, भक्तपुर र ललितपुरको महालक्ष्मी नगरपालिकाका ५ को टीकाथली क्षेत्रसमेत डुबान भएको हो।
डुबानमा नरेफाँटमा रहेको लालीगुराँस बाटिका विद्यालयसमेत परेको छ। विद्यालयको पहिलो तला पुरै जलमग्न भएको छ। यसैगरी सल्लाघारी, जगाती लगायत स्थानका घरमा बाढी पसेको छ । सूर्यविनायक नगरपालिकाको पुरानो जगाती पुल नजिकको एक कपास उद्योगमा र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा पनि बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
पुरानो जगाती पुल नजिकको ठाडो खोलाको बाढी कपास उद्योगमा पस्दा कपास र कपासले बनेका तयारी सिरक–डसनामा क्षति पुगेको छ । त्यहाँ अनुमानित १० लाख मूल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ । यसैगरी चाँगुनारायण नगरपालिका ८ मा लक्ष्मी प्रजापतिले सञ्चालन गरेको साइन उडन फर्निचरमा व्रह्मायणी खोलाको बाढी पसेको थियो ।
भक्तपुर प्रहरीका अनुसार बाढीले मानवीय र अन्य ठूलो भौतिक क्षति पुगेको जानकारी भने आएको छैन । विगत १२ घण्टाको अवधिमा काठमाडौं उपत्यकासहित देशभर वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागले मोबाइलमा सन्देश पठाउँदै नदी किनारका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ। विभागका अनुसार मनोहरा, हनुमन्तेसँगै गोदावरी खोलाको जलमापन केन्द्र जलसतह खतरा तह पार गरेको छ।