मनराशिसवा नगरपालिकाले सपेता (मसला)को रुख काट्न सुचना जारी

२०८१ श्रावण १६, बुधबार १७:२४

महोत्तरी,१६ साउन । मधेशको सम्पूर्ण क्षेत्रमा पानी सतह निकै नै तल गईरहेकोले महोत्तरीको मनराशिसवा नगरपालिकाले सपेता (मसला) को रुख काट्ने सार्वजनिक सुचना जारी गरेको छ । पालिकामा पनि  मसलाको रुखले परिरहेको असरबारे व्यापक गुनासो आउन थालेपछि कार्यपालिकाबाट निर्णय गरेरै मसलाका रुख हटाउन लागिएको सूचना जारी गरिएको छ ।

सपेता (मसला) रुखले पारेको समस्याबाट किसानको खेति योग्य जमीनको उर्वरा शक्ति कमजोर गर्नुको साथै पानी बढी सोसने र जमीनहरुलाई बाँझोपन बनाउने लगायतका समस्याहरु भएकाले किसान जन समुदायले आ-आफ्नो सपेता को रुख काटी व्यवस्थापन गर्नको लागि सुचना प्रकाशित गरिएको छ ।

सुचना प्रकाशित मिति देखी ३ महिना भित्रमा सपेता(मसाल)को रुख काट्न र बरु त्यसको ठाउँमा अरु उपयोगी बिरुवा लगाउनका लागी सूचनामा उल्लेख गरिएको  छ । साथै म्याद समाप्त पश्चात नगरपालिका बाट नगर प्रहरी खटाइ तथा कर्मचारीहरुद्वरा सपेताको रुख काटन लगाउने जनाएको छ ।

कुनै समय तराई–मधेश क्षेत्रमा छिटो उम्रिने र बिक्री गरेर तत्काल आम्दानी हुने भएकाले किसानहरु वरपरिसँगै खेतका आलीआलीमा लगाउन सुरु गरेका थिए । तर, पछि उक्त रुखले गर्दा वरिपरिको जमिनको उर्बराशक्ति घट्दै गएको, पानीको स्रोत पनि प्रभावित भएको भन्दै रुख काट्न पालिकामा गुनासो गर्न आउनेको संख्या पनि बढ्दै गएको सम्बन्धित पालिकाका जनप्रतिनिधि बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?