काठमाडौं,२३ साउन । दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार पाँचैजनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ।
आज बुधबार दिउँसाे १:५४ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको ९एन–एजेडी कल साइनकाे हेलिकाेप्टर शिवपुरी गाउँपालिका- ७ सूर्यचौर (सुइरेचाैर)मा दुर्घटनामा परेको हो। हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार थिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्बन्धविच्छेद भएको थियो। दुर्घटनाको खबर प्राप्त भएपछि प्राधिकरणले उद्धारका लागि प्रभु एयरको ९एन–AN L कल साइनको हेलिकोप्टर पठाए पनि एयर डाइनेस्टीकाे हाेलिकाेप्टरमा सवार पाँचैजनाकाे ज्यान गएकाे छ।






