भाद्र ०९, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हिजो शनिवार राति जनकपुरधामस्थित प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् ।
अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, अतिसघनसहितका कक्ष मुख्यमन्त्री सिंहले निरीक्षण गरे ।ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सङ्ख्या र कार्यविभाजन, काम गर्ने अवधि, ड्युटीमा नियमितता आदिका बारेमा उनले जानकारी लिएका छन् ।
अस्पतालका चिकित्सकले बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्र्याइँ गरिरहेको गुनासा आएपछि मुख्यमन्त्री सिंहले शनिवार राति ११ बजे अचानक निरीक्षण गर्न पुगेका छन् । रातिका समयमा मुख्यमन्त्री सिंह अस्पतालको निरीक्षणमा गर्न पुग्दा बिरामीहरू चकित परेका थिए ।
उनीहरूसँग मुख्यमन्त्री सिंहले अस्पतालको समस्याबारे सोधपुछ समेत गरेका छन्। कुरुवाहरूले भने रातीका समयमा डाक्टर नबस्ने, ड्यूटीमा खटेका स्वास्थ्यकर्मीले कुनै कुरा सोध्दा वास्ता नगर्ने र फार्मेसीमा औषधि नपाउने गरेको गुनासो मुख्यमन्त्री समक्ष कुरुवाहरूले भनेका छन्।
त्यसक्रममा मुख्यमन्त्री सिँहले त्यहाँ कार्यरत जनशक्तिलाई तोकिएको समयसम्म नियमित र तत्परताका साथ काम गर्न निर्देशन दिए । उनले ड्युटी कक्षमा कामका लागि निर्धारित सँख्या र समयावधिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी नियमित खटिनुपर्ने र बिरामीको उपचारमा कुनै किसिमको लापारबाही नगर्न समेत निर्देशन दिए ।
मुख्यमन्त्री सिँहले अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक र उचित औषधि राख्न भन्दै सूचीअनुसारको औषधि अभाव हुन नदिन सम्बन्धित कर्मचारीलाई निर्देशन दिए । रातका समयमा जनशक्ति अभाव, उपयुक्त रेखदेखमा कमी र अस्पतालभित्रका फार्मेसीमा औषधि अभावका बारेमा केही कुरुवाले गुनासो गरेपछि मुख्यमन्त्री सिँहले त्यहाँ आइपुगेका प्रतिष्ठानका रजिस्ट्रार विनोदकुमार यादवलाई ती समस्या समाधान गर्न निर्देशन दिए ।
उनले भने, ‘हामीले के गर्नुपर्छ गर्छौं । तर बिरामीको उपचार सहज र सुलभ हुनुपर्छ ।’
उनले अस्पतालमा बिरामीको चापमा अत्यधिक वृद्धि भइरहेका बेला भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थपिँदै गएको उल्लेख गरे । अस्पतालमा विद्यमान समस्या समाधान गर्दै त्यहाँ उपलब्ध सेवासुविधा उन्नत बनाउन र विविधिकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।






