भाद्र १२, महोत्तरी/पंकज कुमार । महोत्तरी जिल्लाको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्नुको साथै मोबाइल खोसेका छन् ।
स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा आर्केस्ट्रा मेला लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् ।
अश्लिलता प्रदर्शन गर्ने र कानूनले समेत बर्जित गरेको कुरामा मेयर उपस्थित भएपछि प्रश्न स्वभाविक थियो । फोटो भिडियो खिच्ने क्रममा मेयरले हातपात गर्नु भयो । अश्लिल गाली गर्दै मोबाइल समेत खोसेर लैजानु भयो’, पीडित रविन्द्र महत्तोले बताएका छन्।
मेयर साहको रोहबरमा आयोजित आर्केस्ट्राले समाजलाई भड्काउने र अश्लिलता फैलाउने भन्दै आवाज उठान गर्न खोजेका महतोको मोबाइल खोस्दै कुटपीट समेत गरेको महतोले जानकारी दिएका हुन् ।
स्थानीय युवा महतो भ्रष्टाचार, मिटरब्याज लगायत जनताका पीडामा आवाज उठाउदै आएका व्यक्ति समेत हुन् । नगरपालिकाले गर्ने हरेक काममा जवाफदेहीताको खोजी गर्ने महतोमाथि मेयरले यसअघि पनि अश्लिल गाली गर्दै विभिन्न धम्की दिने गरेको पीडितको भनाई छ ।






