दुग्धमती नदी अतिक्रमणमुक्त गराइने

२०८१ भाद्र १२, बुधबार १८:०७

भाद्र १२, जनकपुरधाम। ऐतिहासिक तथा धार्मिक महत्त्वको “दुग्धमती नदी” को प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन् गरिने निर्णय भएको छ । उद्गमस्थलदेखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म निर्धारण तथा उत्खनन् गरिने निर्णय भएको हो।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा आज बुधबार बसेको उच्चस्तरीय बैठकले वि.सं. २०२४/०२६ मा भएको नापीका आधारमा दुग्धमती नदीको सीमा यकिन गर्ने तथा सो कार्यका लागि आवश्यक प्राविधिक तयारी गर्ने निर्णय गरेको छ । बैठकले “दुग्धमती नदी”को सीमा यकिन भएपछि अतिक्रमणका विषयमा जानकारी हुने र त्यसआधारमा नदीको बहाव क्षेत्र खाली गराउने कार्य तीव्र गतिमा अघि बढाउने निर्णय गरेको मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले बताएका छन् ।

ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याल, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, नेपाल प्रहरीका नायब महानिरीक्षक यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक कालीदास धौवजी, सडक डिभिजन कार्यालय जनकपुरका डिभिजन प्रमुख दिपककुमार झा, धनुषाका प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद सिटौला, धनुषाका नापी अधिकृत कामेश्वर राउत लगायत सहभागी रहेका थिए ।

यसैगरी दुग्धमती नदीको बहाव क्षेत्र अतिक्रमण लगायतका स्थितिबारे जानकारी लिन मुख्यमन्त्री सिँह धनुषाको क्षिरेश्वर नगरपालिका–५ स्थित दुग्धमतीको उद्गमस्थलदेखि लिएर लक्ष्मीनियाँ गाउँपालिकाको वडा नं.३ स्थित बनिनियाँसम्म अवलोकन गरेका छन् । लक्ष्मीनियाँ गाउँपालिकाको वडा नं.३ स्थित बनिनियाँभन्दा उत्तर उद्गमस्थलसम्म नदीको बहावक्षेत्र नै अतिक्रमित छ । त्यस क्षेत्रमा खेतमुनि भएर पानी बग्ने गरेको छ ।

दुधमती नदीमा धार्मिक तथा पौराणिक ग्रन्थमा समेत उल्लेखित पवित्र नदी मानिन्छ । श्रीपञ्चमीका दिन नदीको उद्गमस्थलमा ठूलो मेला लाग्ने गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?