आज “कुशे औँसी” तथा बुवाको मुख हेर्ने दिन

२०८१ भाद्र १७, सोमबार ११:४७

भाद्र १७, जनकपुरधाम। भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदै आाएका छन्।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहीआएको छ । कुशे औँसीको अवसरमा आज काठमाडौँ लगायत देशका विभिन्न क्षेत्रमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ।

गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुआमाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको अहिले भिड छ। बाबुआमा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य प्राप्त हुनुका साथै आफ्नो कूल स्थिर हुने धार्मिक विश्वास छ।

यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ-आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?