भदौ २६ ,बुधबार काठमान्डौ
नेपालमा १६ वर्ष उडेपछि बुद्ध एयरको जहाजले व्यावसायिक उडानबाट बिदा लियो । एटीआर ४२ (नाइन एन एआईएन) जहाज मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइटपछि ‘ह्याङ्गर’मा पुगेको हो ।
नेपाली आकाशमा सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाटै व्यावसायिक उडान सुरु गरेको जहाजले मंगलबार बिहान पनि आफ्नो अन्तिम उडानका रूपमा माउन्टेन फ्लाइट गरेको थियो ।
“बुद्ध एयरमार्फत नेपाली आकाशमा नै ४० हजार टेकअफ ल्यान्ड गर्दै ७० हजार उडान साइकल पूरा गरी नेपालमा १८ लाख यात्रुलाई सेवा दिएको छ । (एक टेकअफ र एक ल्यान्डिङ बराबर एक उडान साइकल हुन्छ),” उनी भन्छन्, “उडानमा आफ्नो पूर्ण समय खर्चिएको एटीआर ४२–३२० जहाज एटीआर जहाज उत्पादक कम्पनीले उत्पादन गरेको जहाजमध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने यो नै पहिलो हो ।”
एटीआर फ्लाइटमा ७० हजार ‘साइकल’ उडान गर्ने यो पहिलो जहाज भएको बुद्ध एयरका टेक्निकल निर्देशक मंगेश थापा बताउँछन् ।
नेपालमा मात्र यस जहाजले ४० हजार साइकल उडान गरेको छ । ४७ सिट क्षमताको यो जहाज सन् १९९७ डिसेम्बर २८ बाट उड्न थालेको थियो ।
व्यावसायिक उडान अवधि समाप्त भएपछि जहाज के हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ । यसै विषयमा न्युजकारोबारकर्मीले टेक्निकल निर्देशक थापासँग सोध्दा भन्छन्, “यसका सामानहरू झिकेर नागरिक उड्ड्यान प्राधिकरणको फायर फाइटर डिपार्टमेन्टमा जान्छ । त्यहाँ जहाज फायर फाइटर तथा रेस्क्यू तथा अन्य विभिन्न अध्ययन अनुसन्धानमा प्रयोग गर्नका लागि जाने छ ।”






