सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो, सिरिजमा कब्जा

२०८१ कार्तिक ४, आईतवार १०:४०

४ कात्तिक, काठमाडौं । नेपालले अमेरिकासँगको दोस्रो टी-२० खेल सुपर ओभरमा जितेको छ । नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल सुपरओभरमा पुगेको थियो । नेपालले दिएको १७१ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो ।

सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य पछाएको नेपालले ४ बलमा नै पुरा गर्दै जित हासिल गरेको थियो । नेपालको जितमा सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोमपालले खेलको अन्तिम ओभरमा ७ रनलाई डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा लागेका थिए भने सुपर ओभरमा उत्कृष्ट बलिङ गदै अमेरिकालाई केवल २ रन दिएर दुवै विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा अविजित ९२ रन बनाएका थिए । त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए ।

त्यस्तै अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २-२ विकेट लिएका थिए भने सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए । नेपालको यो जितपछि ३ खेलको सिरिज २-० ले जितेको छ र सिरिजमा कब्जा गरेको छ । अब सिरिजको अन्तिम खेल भोलि बिहान हुने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?