जनकपुरधाम, २० कार्तिक – सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा आज बिहान एक कार खस्दा दुई जना बेपत्ता भएका छन्। सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भएर पोखरीमा खसेको हो।
बेपत्ता हुनेहरूमा गौशाला नगरपालिका–१० का करिब ३७-३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जानकारी दिएको छ। कारमा सवार अर्को व्यक्ति, महोत्तरीको गौशाला–२ का ३१ वर्षीय जनक यादव, भने पौडिएर सुरक्षित बाहिर निस्कन सफल भएका छन्।
घटनालगत्तै पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनाको खोजीकार्य थालेको भए पनि सफलता प्राप्त हुन नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाइएको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन्।
स्थानीयका अनुसार कार अनियन्त्रित भई सडक छेउमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयको पोखरीमा गएर डुबेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






