छठ पर्वको किनमेल गर्न नेपाल–भारत सीमावर्ती बजारहरूमा भिडभाड

२०८१ कार्तिक २०, मंगलवार १८:१६

सर्लाही,२० कार्तिक । छठ पर्व नजिकिँदै गर्दा नेपाल–भारत सीमावर्ती बजारहरूमा किनमेल गर्नेहरूको भिडभाड बढेको छ। सर्लाही जिल्लाको विभिन्न स्थानका नाकाहरु लालबन्दी नाका,सहोरवा नाका,सोनबरसा नाका लगायतका नाकाहरुमा भिडभाड देखिन्छ ।

विशेष गरी छठ पूजाको तयारीका लागि आवश्यक सामग्री जस्तै केराको घरी, पूजा सामग्री, कपडा, फलफूल आदिको माग अत्यधिक बढेको छ। सिमावर्ती बजारहरूमा केराको मागमा वृद्धि हुँदा यसपटक यसको मूल्य पनि केही बढेको छ।

बजारमा मात्र नभएर सडक किनारमा समेत व्यापारीहरू केराको घरी राखेर बिक्री गर्दैछन्। पूजाका लागि केराको प्रमुख महत्व रहेको हुँदा उपभोक्ताहरूले यसको गुणस्तरलाई ध्यानमा राखेर खरीद गर्ने गरेका छन्। केराका साथै, अन्य सामग्रीहरूको पनि व्यापार बढ्दै गएको छ, जसले सीमावर्ती क्षेत्रको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ।

बजारमा केराको अभाव नहोस् भन्नका लागि व्यापारीहरूले पहिले नै केराको स्टक राख्न सुरु गरेका छन्, र भारतको विभिन्न क्षेत्रबाट केराको आयात भइरहेको छ। साथै, सिमावर्ती बजारमा भीड व्यवस्थापनका लागि सुरक्षा व्यवस्था समेत कडा पारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?