नगराईनमा विद्यालय र स्वास्थ्यचौकी अवरुद्ध, स्थानीय नागरिक आक्रोशित

२०८१ कार्तिक २०, मंगलवार २०:०१

जनकपुरधाम,२० कार्तिक । धनुषाको नगराईन नगरपालिकामा विद्यालय र स्वास्थ्य सेवाहरू अवरुद्ध भएपछि स्थानीय नागरिकहरू आक्रोशित बनेका छन्। करिब एक महिनादेखि यहाँको विद्यालय र स्वास्थ्यचौकी पूर्ण रूपमा ठप्प भएपछि विद्यार्थीहरूको पठन-पाठन प्रभावित भएको छ भने सर्वसाधारणले स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको छ।

स्थानीय अगुवा युवा समूहका संयोजक आदर्श कुमार मंडलले प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै समस्यामा शीघ्र ध्यान दिन आग्रह गरेका छन्। यस स्थितिले नगरवासीहरूमा गम्भीर असन्तोष र निराशा उत्पन्न गराएको छ।

ज्ञापनपत्रमा नगर प्रमुख र नगर उप-प्रमुखले समस्या समाधानमा कुनै ठोस कदम नचालेको भन्दै आलोचना गरिएको छ। स्थानीय युवा अगुवाहरूले समस्याको समाधान नभए आगामी एक हप्तामा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। यस अवस्थामा उत्पन्न हुने क्षतिको जिम्मेवारी नगर प्रमुख र नगर उप-प्रमुखले लिनुपर्ने चेतावनी पनि दिएका छन्।

नगरवासीहरूको तर्फबाट जिल्ला प्रशासन कार्यालयलाई हस्ताक्षरित ज्ञापनपत्रमार्फत नगर प्रमुख र नगर उप-प्रमुखलाई शीघ्र समस्या समाधानका लागि निर्देशन दिन अनुरोध गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?