सर्लाही,२६ कार्तिक । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि एक युवकको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन्। घटनामा बलरा नगरपालिका-९, नरहरगन्ज निवासी २० वर्षीय राजीव सहनीको निधन भएको हो।
घटना गएराति बलरा नगरपालिका-१, मिर्जा हथियौलमा भारतीय नम्बर प्लेटको (बिआर ३० एस ९३०६) मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। गम्भीर घाइते भएका राजीवलाई तत्कालै स्थानीय अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठेगानाका बिटु दास घाइते भएका छन्। उनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मृतक राजीवको शवलाई पोस्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।






