रुपन्देही,२७ कार्तिक । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिरासतमै रहँदा पनि आफ्नो आत्मबल र संकल्प कमजोर नभएको बताएका छन्।
रुपन्देहीस्थित सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा उनले हिरासतमा राखिँदा पनि आफ्नो जोश र आत्मविश्वास उस्तै रहेको बताए। प्रहरीको सुरक्षा घेरामा सञ्चारकर्मीहरूतर्फ फर्केर उनले भने, “खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन।”
लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि मंगलबार दिउँसो पोखराबाट जिल्ला सरकारी वकिलको कार्यालय, रुपन्देही ल्याइएको थियो। करिब चार घण्टासम्म चलेको बयानपछि उनलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिने निर्णय गरिएको छ। साँझ परेकाले उनलाई आज राति रुपन्देहीमै राखिने सुरक्षा अधिकारीहरूले बताएका छन्।
यसअघि कार्तिक २ गते काठमाडौंमा पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीले पटकपटक म्याद थप गरी सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धान गरिरहेको छ। यसै अनुसन्धानको सिलसिलामा उनीलाई बयानका लागि रुपन्देही ल्याइएको हो।






