रास्वपा पर्साको विरोध प्रदर्शन : रवि लामिछानेको हिरासतप्रति असन्तुष्टि

२०८१ कार्तिक २८, बुधबार १६:१९

वीरगंज,२८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले वीरगंजसहित देशभर सरकारको विरोधमा प्रदर्शन गरेको छ। पार्टीका सभापति रवि लामिछानेलाई संसदिय छानबिन समितिको प्रतिवेदनमा संलग्नता नदेखाइए पनि हिरासतमा राखिएको विरोधमा रास्वपाले यो प्रदर्शन आयोजना गरेको हो। पार्टीले लामिछानेलाई राजनीतिक प्रतिशोध स्वरूप हिरासतमा राखिएको आरोप लगाउँदै न्यायको माग गरेको छ।

पर्सा जिल्ला संयोजक हरि पन्तको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै, रास्वपाले सरकारले लोकतन्त्रको मर्मविपरीत तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएको छ। ज्ञापनपत्रमा संसदिय छानबिन समितिको प्रतिवेदन अनुसार लामिछाने कुनै सहकारीका सदस्य वा ऋणी नभएको र सहकारी हिनामिनामा संलग्न नरहेको तथ्यलाई स्मरण गराउँदै, सरकारले बारम्बार हिरासत अवधि थपेर उनलाई राजनीतिक प्रतिशोध साध्न खोजेको भनिएको छ।

प्रदर्शन र चेतावनी

रास्वपाले यस प्रकरणमा सरकारको नीतिप्रति गम्भीर असन्तुष्टि जनाउँदै, हिरासत म्याद फेरि थपिएमा पर्साका सदस्यहरूले अनशनमा बस्ने चेतावनी दिएको छ। वीरगञ्जमा प्रदर्शनका क्रममा कार्यकर्ताहरूले प्रधानमन्त्री र सभापति लामिछानेको तस्बिर सहित हतकडी लगाएर सांकेतिक प्रदर्शन गरेका थिए। नाराबाजी गर्दै कार्यकर्ताहरूले सरकारको दमनलाई ‘तानाशाही’ भन्दै विरोध गरे।

प्रदर्शनका क्रममा केही समय प्रहरी हस्तक्षेपको प्रयास भए पनि कार्यकर्ताहरूले विरोध जारी राखे। पर्सा संयोजक हरि पन्तले लामिछानेलाई अनावश्यक हिरासतमा राख्ने सरकारी कदमले लोकतन्त्र र कानुनी प्रक्रियाको उल्लंघन गरेको बताए। साथै, उनले लोकतान्त्रिक मान्यतालाई सम्मान गर्दै लामिछानेमाथि गरिएको अन्यायपूर्ण कदम फिर्ता लिन सरकारलाई आग्रह गरे।

नेताहरूको प्रतिक्रिया

रास्वपाका केन्द्रीय सदस्य नन्दन यादवले लामिछानेको गिरफ्तारीलाई राजनीतिक षड्यन्त्रको परिणाम भन्दै सरकारलाई आलोचना गरे। यादवले काँग्रेस–एमाले नेतृत्वको सरकारले लामिछानेलाई बदनाम गर्न योजनाबद्ध प्रयास गरेको आरोप लगाए। युवा नेता महादेव प्रसाद कुर्मीले देशभर रास्वपाका समर्थकहरू लामिछानेको पक्षमा एकताबद्ध रहेको र सरकारी कदमले कार्यकर्ताहरूमा कुनै असर पार्न नसकेको बताए।

यस विरोध कार्यक्रममा रास्वपा प्रचार प्रसार विभाग मधेश प्रदेश प्रमुख राम सर्राफ, प्रदेश सदस्य तुलसा अधिकारी, सुदिश प्रजापती, सब्बु कंडेल, पूर्व जिल्ला संयोजक दिलिप कुर्मी, र अन्य स्थानीय नेताहरूको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?