काठमाडौं विश्वकै छैठौं प्रदूषित सहर, वायु प्रदूषणले स्वास्थ्यमा जोखिम बढ़ायो

२०८१ कार्तिक २९, बिहीबार ११:४९

२९ कात्तिक, काठमाडौं । विश्वका प्रमुख प्रदूषित सहरहरूमा काठमाडौं पनि सूचीमा उक्लिएको छ, अहिलेको अवस्थामा यो विश्वकै छैठौं प्रदूषित सहर बनेको छ। स्विट्जरल्यान्डमा मुख्यालय रहेको आईक्यूएअरका अनुसार काठमाडौंको हावा प्रदूषण स्तर १ सय ७० एक्यूआई पुगेको छ, जुन स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ।

वातावरण विज्ञहरूका अनुसार एक्यूआई १०० भन्दा माथि पुग्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ। काठमाडौंका विभिन्न क्षेत्रमा प्रदूषण मापन गर्दा खुमलटार सबैभन्दा प्रदूषित स्थान देखिएको छ, जहाँ एक्यूआई १ सय ६९ मापन गरिएको छ। त्यसैगरी, रत्नपार्कमा १ सय ६५, भरतपुरमा १ सय ६४ र शंकरपार्कमा १ सय ६२ एक्यूआई पुगेको देखिएको छ।

आईक्यूएअरका तथ्यांकअनुसार विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा पाकिस्तानको लाहोर रहेको छ, जहाँ वायु प्रदूषण ७५५ एक्यूआई पुगेको छ। भारतको राजधानी नयाँ दिल्लीमा पनि प्रदूषणले गम्भीर स्तर पार गरेको छ, बुधबार बिहान एक्यूआई ४ सयभन्दा माथि पुगेको जानकारी छ। यसैगरी, भियतनामको हानोई, भारतको कोलकाता र बंगलादेशको ढाका क्रमशः तेस्रो, चौथो, र पाँचौं स्थानमा रहेका छन्।

यसले गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले जनस्वास्थ्यमा जोखिम बढेको भन्दै विज्ञहरूले सतर्कता अपनाउन सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?