जनकपुरधाम: पठनपाठन सुचारु नगरे नगरपालिकाको कार्यालयमा ताला लगाउने चेतावनी

२०८१ मंसिर ७, शुक्रबार १९:००

जनकपुरधाम,०७ मंसिर । जनकपुरधामका निजी विद्यालयहरूमा पठनपाठन अविलम्ब सुचारु नगरिए नगरपालिकाको कार्यालयमा ताला लगाउने चेतावनी संयुक्त विद्यार्थी संगठनले दिएको छ। अनेरास्ववियु धनुषा, अनेरास्ववियु क्रान्तिकारी धनुषा, र विद्यार्थी जनमत संघ धनुषाले संयुक्त बैठकबाट यो निर्णय गरेका हुन्।

संगठनका प्रतिनिधिहरूले नगरप्रमुख मनोजकुमार साहलाई ज्ञापन पत्र बुझाउँदै छात्रवृत्ति विवादको समाधान तथा पठनपाठन तत्काल संचालन गर्न माग गरेका थिए। उनीहरूले एक दिनभित्र विद्यालय र क्याम्पस सञ्चालन नभए उपमहानगरको कार्यालयमा तालाबन्दी गर्न बाध्य हुने बताएका छन्।

विद्यार्थी संगठनहरूले शिक्षा क्षेत्रलाई अवरोधमुक्त बनाउन प्रशासनले ध्यान नदिए कडा कदम चाल्ने चेतावनीसमेत दिएका छन्। बुझाइएको ज्ञापन पत्रमा छात्रवृत्ति सम्बन्धी समस्या समाधान गर्न विशेष पहल गर्न माग गरिएको छ।

आइतबारसम्म पनि विद्यालय तथा क्याम्पस सुचारु नभए जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा ताला लगाइने विद्यार्थीहरूको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?