स्कूल बसको ठक्करबाट बालिकाको मृत्यु: चालकको लापरबाहीप्रति चासो

२०८१ मंसिर ८, शनिबार ०८:१०

जनकपुरधाम,०८ मंसिर । धनुषाधाम नगरपालिका वडा नम्बर ३ मा बिहीबार बिहान भएको एक दर्दनाक दुर्घटनामा स्कूल बसले ठक्कर दिँदा अढाई वर्षीया मनिता ठाकुरको घटनास्थलमै मृत्यु भएको छ। बाल आवासीय ईङ्गलिस बोर्डिङ स्कूलको ना १ क ९६९६ नम्बरको बसले मनितालाई ठक्कर दिएको थियो।

मनिताका बुबा स्थानीय व्यवसायी किशोरी ठाकुर हुन्, जसको सडकको दुवै किनारमा आयरन स्टोर रहेको छ। प्रत्यक्षदर्शीका अनुसार, मनिता एक पसलबाट अर्को पसलतर्फ जाँदै गर्दा बसले उनलाई किचेको हो।

प्रहरीले बस चालकलाई तत्कालै नियन्त्रणमा लिएको छ। तर, अहिलेसम्म चालकको नाम सार्वजनिक नगरिएकोले चालक परिवर्तनको षड्यन्त्र हुन सक्ने आशंका गरिएको छ।

धनुषामा सञ्चालित दर्जनौँ निजी विद्यालयका बसहरू चालक अनुमति पत्र (लाइसेन्स) नभइ सञ्चालनमा रहेको खुलेको छ। यस्ता घटनाले विद्यालय बसहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। अभिभावक तथा स्थानीयले सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

यो घटनाले विद्यालयहरूमा सवारी साधन तथा चालकको व्यवस्थापनमा सुधार गर्न आवश्यक रहेको सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?