जनकपुरधामका विद्यालय अझै बन्द, उपमहानगरपालिकाको निर्देशनको अवज्ञा

२०८१ मंसिर ९, आईतवार १०:०३

जनकपुरधाम,०९ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाको चेतावनीलाई अवज्ञा गर्दै जनकपुरधामका विद्यालयहरू आज पनि बन्द गरिएका छन्। उपमहानगरपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन नभए कानुनअनुसार कारबाही गरिने चेतावनीसहित हिजो एक सूचना जारी गरेको थियो।

यसबीच, निजी विद्यालयका छाता संगठनहरू हिसान, प्याब्सन, अनप्याब्सन, एमप्याब्सन, र नेपाल प्याब्सनले विद्यालय बन्दका विषयमा संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो अडान स्पष्ट पारेका छन्। उनीहरूले “जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म विद्यालय खोल्दैनौँ” भन्दै मागहरू पूरा गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

संगठनहरूले जारी गरेको विज्ञप्तिमा शिक्षा क्षेत्रमा छात्रवृद्धि सम्बन्धि देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण गराउँदै आफ्ना मागहरूको पूर्ति नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी सहितको विज्ञप्ति जारी गरेका छन्।

जनकपुरधाममा विद्यालय सञ्चालनका विषयमा उपमहानगर र निजी विद्यालय संघहरूको अडानले शिक्षा क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ। विद्यार्थी र अभिभावकले यस समस्याको छिटो समाधान खोज्न दुवै पक्षलाई अपिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?