महोत्तरी,०९ मंसिर । महोत्तरीको पिपरा गाउँपालिका–३, शिव चौकमा रहेको श्री पिपरेश्वरनाथ महादेव मन्दिरमा भएको तोडफोडविरुद्ध स्थानीयवासी तथा हिन्दुवादी समूहले विरोध प्रदर्शन गरेका छन्।
अज्ञात समूहले मन्दिरको शिवलिङ तोडफोड गरेको घटनाप्रति रोष प्रकट गर्दै स्थानीयहरुले विरोध जनाएका हुन्। प्रदर्शनमा सहभागीहरुले दोषी पहिचान गरी कडा कानूनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
उक्त तोडफोडले धार्मिक भावना आहत भएको भन्दै स्थानीय हिन्दू समुदायमा आक्रोश छाएको छ। प्रदर्शनका क्रममा मन्दिर परिसरमा सुरक्षाको व्यवस्था सुदृढ बनाउन र यस्ता घटनाको पुनरावृत्ति रोक्न सरकारसँग अपिल गरिएको छ।
प्रदर्शनकारीहरुले यथाशीघ्र दोषीलाई पक्रेर सार्वजनिक गर्न माग गर्दै, यदि कारबाहीमा ढिलासुस्ती भए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। घटना अनुसन्धानका लागि प्रहरी सक्रिय भएको जनाइएको छ।






