जनकपुरधाममा पहिलो पटक जनकपुर ह्याकाथन प्रविधि मेला सम्पन्न

२०८१ मंसिर १०, सोमबार ०८:४१

जनकपुरधाम,०९ मंसिर । जनकपुरधाममा पहिलो पटक दुई दिवसीय प्रविधि मेला सम्पन्न भएको छ। मंसिर ७ र ८ गते आयोजित जनकपुर ह्याकाथन नामक यस प्रविधि मेलाले मधेश प्रदेशका युवाहरू, विद्यार्थीहरू र प्रविधिमा रुचि राख्ने सबैलाई आफ्नो सिर्जनशीलता प्रदर्शन गर्न र नवीनतम आइडियाहरूलाई जीवन्त बनाउन सुनौलो अवसर प्रदान गरेको छ।

जनकपुरधामस्थित जनक चोकमा ४८ घण्टासम्म सञ्चालन भएको यस ह्याकाथनमा वेबसाईट, वेब एप, मोवाईल एप, च्याटबटलगायत विभिन्न प्रविधि क्षेत्रमा प्रतिस्पर्धा गरियो। प्राविधिक क्षेत्रमा सक्रिय ५६ युवाहरूले यस प्रतियोगितामा भाग लिएका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई पुरस्कार स्वरूप नगद रु ५०,०००/- पहिलो स्थान, रु २५,०००/- दोस्रो स्थान, र रु १०,०००/- तेस्रो स्थानका लागि प्रदान गरिएको छ । साथै, सान्त्वना पुरस्कार स्वरूप रु ५,०००/- पनि प्रदान गरिएको छ ।

नीलगाईका सह-संस्थापक दिपक साहले ह्याकाथनले स्थानीय युवाहरूलाई आफ्ना आइडियाहरू कार्यान्वयन गर्न प्रेरणा दिएको र मधेश प्रदेशमा प्रविधिको विकास र नविनतालाई प्रोत्साहन गरेको बताए। आयोजक टोलीले पनि ह्याकाथनले युवाहरूलाई विश्वस्तरको प्रविधि सिक्न, नवप्रवर्तनको क्षेत्रमा अघि बढ्न, र नयाँ सम्भावनाहरूको खोज गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

जनकपुर ह्याकाथनले मधेश प्रदेशको प्रविधि यात्रामा नयाँ आयाम थपेको छ। युवाहरूको सक्रिय सहभागिताले प्रविधिको क्षेत्रमा सम्भावनाहरूको ढोका खोल्दै स्थानीय स्तरमै नवप्रवर्तन र उद्यमशीलतालाई बलियो बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?