जनकपुरधामका विद्यालय खुल्ने सहमति, तर नगराईनका विद्यालयको भविष्य अन्योलमै

२०८१ मंसिर १०, सोमबार २०:२५

जनकपुरधाम, १० मंसिर । जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा आज सर्वपक्षीय बैठकले जनकपुरधामका सम्पूर्ण शैक्षिक संस्थानहरू भोलिदेखि पुनः सञ्चालनमा ल्याउने सहमति गरेको छ। यो सहमति बनाउनमा सांसद माननीय जुली कुमारी महतोको पनि महत्वपूर्ण भूमिका रहेको छ।

तर, नगराईन नगरपालिकामा भने शैक्षिक अवस्था विगत एक महिनादेखि अन्योलपूर्ण रहेको छ। नगराईनमा मेयर र उपमेयरबीचको विवादका कारण नगर सभा बस्न सकेको छैन। यसका कारण नगरपालिका कार्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रिएको र नगरपालिका प्रशासन ठप्प भएको स्थानीय युवा आदर्श मण्डलले बताएका छन्।

विद्यालयहरू बन्द भएको एक महिना बितिसक्दा पनि सम्बन्धित निकायको ध्यान नपुगेकोप्रति स्थानीय युवा आदर्श मण्डलले आक्रोश व्यक्त गरेका छन्। उनले भने, “नगराईन नगरपालिकामा विद्यालय बन्द हुँदा बालबालिकाको भविष्यमा गम्भीर असर परेको छ। यो विषयमा सम्बोधन गर्न स्थानीय नेतृत्व र जनप्रतिनिधिहरू किन मौन छन्?”

यस क्षेत्रकै प्रतिनिधित्व गर्ने सांसद जुली महतोले जनकपुरधामको शैक्षिक समस्या समाधानमा चासो देखाए पनि आफ्नै निर्वाचन क्षेत्रको विषयमा ध्यान नदिएको आरोपसमेत स्थानीयहरूबाट लागेको छ।

नगराईनको शैक्षिक समस्या समाधानका लागि तत्काल पहल गर्न स्थानीय नागरिक र अभिभावकहरूले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?