जलेश्वरमा न्यायिक सेवा प्रदायक र सेवाग्राहीबीच संवाद कार्यक्रम सम्पन्न

२०८१ मंसिर ११, मंगलवार ११:४२

महोत्तरी,११ मंसिर । आम नागरिकलाई कानुनी सहायता प्रदान गर्न स्थानीय तहका न्यायिक समितिहरूले गरिरहेको कार्यप्रति सेवाग्राहीहरूको अनुभव र सुझावलाई संकलन गर्न उद्देश्यले महोत्तरीको जलेश्वरमा संवाद कार्यक्रम सम्पन्न भएको छ।

यूएनडीपीको आर्थिक सहयोग र दलित समाज उत्थान समिति नेपालको आयोजनामा सोमबार सम्पन्न उक्त कार्यक्रम “संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना-२” अन्तर्गत आयोजित थियो। कार्यक्रममा महोत्तरी गाउँपालिकाका वडाहरु १ देखि ५ र मनरासिस्वा नगरपालिकाका वडाहरु ३ देखि ७ का वडाअध्यक्ष तथा न्यायिक समिति सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता दलित समाज उत्थान समितिका कार्यक्रम सल्लाहकार पुनित चौधरीले गरेका थिए। प्रमुख अतिथि महोत्तरी गाउँपालिका-१ का वडाअध्यक्ष तथा न्यायिक समिति सदस्य रञ्जित चौधरी रहेका थिए।

फोकल पर्सन सुमन झाका अनुसार कार्यक्रमको उद्देश्य महिला तथा सिमान्तकृत समुदायलाई न्यायमा पहुँच अभिवृद्धि गर्दै कानुनी सचेतना र सहायता प्रदान गर्नु रहेको छ।

कार्यक्रममा सहभागीले स्थानीय तहमा न्यायिक समितिले गर्दै आएको कार्यलाई थप प्रभावकारी बनाउने उपायहरूको विषयमा आफ्ना धारणा राखेका थिए। साथै, न्यायिक सेवा प्रभावकारी बनाउन सेवाग्राही र सेवा प्रदायकबीचको सहकार्यलाई अझ बलियो बनाउनुपर्ने कुरामा जोड दिइएको थियो।

कार्यक्रममा सञ्चारकर्मी, स्थानीय प्रतिनिधि र विभिन्न क्षेत्रका सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?