रौतहट,१४ मंसिर । रौतहट जिल्लामा सशस्त्र वन सुरक्षा गस्ती टोलीले अवैध रुपमा तस्करी गरिएको लाखौं रुपैयाँ बराबरको सालको काठसहित एउटा पिकअप भ्यान बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको यस कारबाहीले वन तस्करी नियन्त्रणमा ठूलो सफलता प्राप्त गरेको छ।
बिहीबार रेन्जर विकास लामिछानेको नेतृत्वमा गएको सशस्त्र वन सुरक्षा टोलीले महेन्द्र राजमार्गमा धनसरबाट दुई किलोमिटर पूर्व लचका भन्ने स्थानमा तस्करी भइरहेको ना २ च ९३१९ नम्बरको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको हो। गाडीमा साढे ८५ क्युफिट सालको काठ लोड गरिएको अवस्थामा बरामद गरिएको छ।
गाडीका चालक जितेन्द्र चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर पठाइएको छ। जिल्ला वन अधिकृत राजेश कुमार साहका अनुसार काठ तस्करीमा संलग्न समूहबारे गहिरो अनुसन्धान भइरहेको छ।
डिभिजन प्रमुख हेमन्त कुमार साहका अनुसार बरामद गरिएको ९ थान सालको गोलिया काठको बजार मूल्य ३ लाख रुपैयाँभन्दा बढी रहेको छ। तस्करीका लागि प्रयोग गरिएको बोलेरो पिकअप गाडीलाई पनि नियन्त्रणमा राखिएको छ।
सरकारले वन क्षेत्रको संरक्षणमा कडाई गर्दै आए पनि रौतहट लगायतका क्षेत्रमा वन तस्करीका घटना बारम्बार भइरहेका छन्। सशस्त्र वन सुरक्षा गस्तीले अवैध काठ तस्करी नियन्त्रणका लागि नियमित निगरानी गरिरहेको भए पनि तस्करहरूले नयाँ–नयाँ तरिकाबाट काठ ओसारपसार गर्ने प्रयास गर्दै आएका छन्।






