जनकपुर: भाटभटेनी सुपर मार्केटविरुद्ध उपभोक्ता ठगी मुद्दा, उच्च अदालतमा पेशी जारी

२०८१ मंसिर १७, सोमबार १९:५८

जनकपुरधाम,१७ मंसिर । उच्च अदालत जनकपुरले भाटभटेनी सुपर मार्केट जनकपुरधाम शाखाका प्रतिनिधिलाई भोलि अदालतमा उपस्थित हुन आदेश दिएको छ। साथै, मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको छ।

धनुषाको लक्षमिनिया गाउँपालिका वडा नं. ५ का अधिवक्ता सर्वोदय ठाकुरले भाटभटेनी सुपर मार्केट जनकपुर शाखाविरुद्ध उच्च अदालत जनकपुरमा निवेदन दर्ता गरेको  थिए । निवेदनमा सुपर मार्केटले उपभोक्ताबाट एमआरपी निर्धारित मूल्यभन्दा तीन गुणा बढी रकम असुलेको दाबी गरिएको थियो ।

अधिवक्ता ठाकुरका अनुसार, २०७८ मंसिर ३ गते उनले Tic Tac Mint नामको चुइङ्गम खरिद गर्दा यसको एमआरपी रु. १० लेखिएको थियो, तर सुपर मार्केटले रु. ३० लिएको थियो। ठगीको विषयमा सुपर मार्केटका प्रवन्धकसँग स्पष्टीकरण माग्दा “जे गर्नु छ, गर्नुहोस्” भन्ने गैरजिम्मेवार प्रतिक्रिया आएको निवेदनमा उल्लेख छ।

ठगीको घटनालाई उच्च अदालतमा निवेदन दर्ता गर्दै अधिवक्ता ठाकुरले उपभोक्ता संरक्षण ऐन २०७५ को मर्म उल्लङ्घन भएको दाबी गरेका छन्। उनले भने, “सुपर मार्केटले न केवल मलाई, तर दिनहुँ हजारौँ उपभोक्तालाई ठगी गरिरहेको छ। यो व्यवहार तत्काल रोकिनु पर्दछ।”

अधिवक्ता ठाकुरले उच्च अदालतमा निवेदन दर्तागरेर अदालतले परमादेश जारी गरी उपभोक्ताको हकहितको सुरक्षा गर्नुपर्ने माग राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?